विश्वविद्यालयलाई विधिबिधान अनुसार चलाउन सुझाव

विश्वविद्यालयलाई विधिबिधान अनुसार चलाउन सुझाव
सुर्खेत,१० मंसीर
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतलाई ऐन, नियम, विधि अनुसार संचालन गर्न एक कार्यक्रमका सहभागिले सुझाव दिएका छन् । विश्वविद्यालयका विगतका पदाधिकारीहरुले विश्वविद्यालयलाई विधिमा नचलाउँदा समस्या उत्पन्न भएको भन्दै उक्त सुझाव दिएका हुन ।
नेपाल प्रगतिशिल प्राध्यापक संगठन मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय समितिले विहिबार वीरेन्द्रनगरमा आयोजना गरेको एक कार्यक्रमका सहभागिले उक्त कुरा बताएका थिए । मप विश्वविद्यालयको शिक्षा विज्ञान संकाय डीन नियुक्त डा. दिपबहादुर अधिकारी र मप विश्वविद्यालय कार्यकारी सदस्यमा नियुक्त उपप्राध्यापक भिउसिंह बुढाको सम्मान तथा बधाईका लागि आयोजित कार्यक्रमका सहभागिले उक्त कुरा बताएका थिए ।
विश्वविद्यालयको पुरानो नेतृत्वको मनपरी कार्यशैलीका कारण विश्वविद्यालय अख्तियारको घेरामा परेको बताउँदै विश्वविद्यालयलाई हाम्रो र राम्रो बनाउन ऐन, नियम अनुसार काम गर्न सुझाव दिइएको थियो । विश्वविद्यालयको नयाँ नेतृत्वले समेत केही नियुक्तिमा एकलौटी गरेको भन्दै सबैको सम्मानहुने गरी काम गर्न सुझाव पनि दिइएको थियो ।
प्राध्यापक संगठनका केन्द्रीय सदस्य खोपिराम लम्साल, केन्द्रीय सदस्य तथा सुर्खेत क्याम्पस (शिक्षा) का उपप्राध्यापक माधवप्रसाद खनाल लगायतले सफलताको शुभकामना दिएका थिए । सम्मान तथा बधाई कार्यक्रममा शिक्षा विज्ञान संकायका डीन अर्जुनकुमार गौतम, मानविकि संकायका एकेडेमी डाइरेक्टर आनन्दप्रसाद सुवेदी, शिक्षा विज्ञान संकायका एकेडेमी डाइरेक्टर लक्ष्मी आचार्य, व्यवस्थापन संकायका सहायक एकेडेमी डाइरेक्टर हस्त पुलामी सहितले आ–आफ्नो भनाई राखेका थिए । कार्यक्रम प्राध्यापक संगठन मप विश्वविद्यालय केन्द्रीय समितिका अध्यक्ष तेजविक्रम वस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो ।