यमनमा भएको कार बम हमलामा ५० मारिए

यमनमा भएको कार बम हमलामा ५० मारिए
२३ पुस
यमनमा आज बिहानै भएको एक आत्मघाती बम विस्फोटमा परी कम्तीमा पनि ५० जनाको ज्यान गएको छ । 
सो हमलामा परी अरुपनि दर्जनौँ व्यक्ति नराम्ररी घाइते भएका छन् । अधिकारीहरुका अनुसार यमनको राजधानी सानामा रहेको एक प्रहरी प्रतिष्ठान कार्यालय बाहिर सो हमला भएको थियो । 
सो बम निकै शक्तिशाली रहेकोले विस्फोटको आवाज साना सहरमा नै सुनिएको पनि बताइएको छ । उक्त बम विस्फोटपछि गोली चलाइएको आवाज पनि आएको थियो । उक्त क्षेत्रमा दर्जनौँ शव यत्रतत्र छरिएका छन् भने प्रहरी र अस्पतालका कयौँ एम्बुलेन्स कुदिरहेका छन् । सो क्षेत्रलाई हाल प्रहरीले सुरक्षा घेराभित्र पारेको छ भने सहरमा पनि बाक्लो सुरक्षा उपस्थिति रहेको देखिन्छ ।सन् २०१४ को अक्टोबर महिनापछि यमनमा भएको यो सबैभन्दा शक्तिशाली हिंसात्मक हमला हो । त्यस दिनपनि राजधानी सानामा नै अल कायदाले गराएको यस्तै आत्मघाती आक्रमणमा परी कम्तीमा पनि ४७ जनाको ज्यान गएको थियो ।