सार्थक संवादको सुरु गर्न ३० दलीय मोर्चाको आग्रह ।।

 
सुर्खेत,फागुन,०९
 
एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाले हिजोको प्रधानमन्त्रीको बिज्ञप्ती केही सकारात्मक भए पनि औपचारीक वार्तामा बस्ने वातावरण नबनेको ठहर गरेको छ । मोर्चाले सार्थक संवादको वातावरण बनाउन सत्तारुढ दलहरुलाई आग्रह गरेको छ । एकीकृत माओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको मोर्चाको बैठकले प्रधानमन्त्री कोइरालाको बिज्ञप्ती सकारात्मक भए पनि सार्थक वार्ताका लागि वातावरण अझै नबनेको भन्दै असन्तुष्टी प्रकट गरेको छ । बैठकले सहमति र वार्ताको कुरा मात्रै गर्ने तर सार्थक वार्ताका लागि तयार नहुने सत्तारुढ दलहरुमा सुधारको खाँचो रहेको औल्याएको छ ।  बहुमतीय प्रक्रियाले दलहरुलाई बिभाजन गरेकाले तत्काल त्यसलाई रोकेर सहमतिको प्रयास अगि बढाउने काम सत्तारुढ दलहरुले गर्नु पर्ने मोर्चाले माग गरेको छ । आन्दोलनका लागि गाँउ तहसम्म नेता तथा कार्यकर्ता परिचालन गर्न सबै दलले पहल गर्ने सहमति पनि आजको बैठकमा भएको मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले बताउनु भयो ।