संघीयतामा गए आफ्नै देशमा नाकाबन्दी भोग्नु पर्ने पूर्व सेनापति कटवालको

भक्तपुर, फागुन ९ -  पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवालले हुचुवाको भरमा देश संघीयतामा गए आफ्नै देशमा नाकाबन्दीको पीडा भोग्नु पर्ने चेतावनी दिनुभएको छ ।

रफत संचार क्लब भक्तपुरले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले हचुवाको भरमा संघीयता घोषणा भए एक प्रदेशले अर्को प्रदेशलाई नाकाबन्दी गर्ने अबस्था आउने बताउनुभयो ।

देशले संघीयता थेग्न सक्छ कि सक्दैन यसबारे प्रष्ट हुनु जरुरी रहेको औल्याउँदै उहाँले भन्नुभयो ‘देश संघीयतामा प्रवेश गरिरहेको अवस्थामा हरेक राज्यहरु सक्षम नभएका खण्डमा एक प्रदेशले अर्को प्रदेशलाई नाकाबन्दी गर्न सक्ने खतरा रहन्छ, यसतर्फ बेलैमा सचेत रहनु जरुरी छ ।’ कटवालले प्रजातन्त्र स्थापना भएको लामो समय बितिसक्दा पनि मुलुकमा प्रजातन्त्रको अभ्यास अझै हुन नसकेको चर्चा गर्नुभयो ।

कटवालले भन्नुभयो ‘देशमा प्रजातन्त्र आएको लामो समय विते पनि यसको जग नै बस्न सकेको छैन, न त यसको अनुभूति नै जनताले गर्न पाएका छन्, नेपालमा प्रजातन्त्रको जग नै नबस्दा प्रजातन्त्रले फस्टाउने अवसर पाएन ।’

उहाँले राजनीतिक दलका नेताहरुको बोलीको ठेगाना नहुँदा देश अन्योलको भुमरीमा फस्दै गएको चर्चा गर्दै दलका नेताहरु दलगत स्वार्थ र परिवारको चक्रव्यूहमा फस्दै जाँदा परिवर्तन संस्थागत हुन नसकेको बताउनुभयो ।