रेडियोलाई पनि मर्जरमा लैजाने प्रस्ताव

img1

काठमाडौं, फागुन ९ - रेडियो सञ्चालले रेडियोको दिगोपनाका लागि एक अर्कामा समायोजन हुन अर्थात मर्जरमा जानका लागि छलफल अघि बढाउने निष्कर्ष निकालेका छन् । काभ्रेको धुलिखेलमा शुक्रबार र शनिबार २ दिनसम्म भएको छलफलका सहभागीले रेडियो चलाउन कठिन भएको अवस्थामा एक अर्कामा गाभिन सकिने भन्दै त्यसका लाग छलफल  गरिनु पर्नेमा जोड दिएका छन् ।

छलफलका सहभागीहरुले रेडियोलाई पनि अन्य सञ्चार संस्था जस्तै समान व्यवहार गर्नु पर्ने माग गरेका छन् । भेलामा देशभरका ३० वटा सामुदायिक र २० वटा व्यवसायिक गरी ५० वटा रेडियोका सञ्चालकहरुको सहभागिता थियो ।

इन्टरन्युज, अकोराव नेपाल, एन्टेना फाउन्डेसन नेपाल, बोर्डकास्टिङ एसोसिएसन नेपाल, इक्वेल एक्सेस, नेपाल वातावरण पत्रकार समूह र कम्युनिकेसन कर्ननको आयोजनामा दुई दिनसम्म चलेको देशभरका रेडियो सञ्चालकहरुको भेलाले रेडियोहरु व्यवस्थित गर्नका लागि पहिला आफूहरु नै रेडियो केका लागि भन्ने स्पष्ट हुनु पर्ने निष्कर्ष निकालेको छ । धुलिखेलमा शुक्रबार सुरु भएको सम्मेलनको शनिबार ललितपुरमा समापन गरिएको छ । सम्मेलनको समापनमा सरकारका मुख्य सचिव लिलामणी पौडेलले रेडियो सञ्चालकहरुले रेडियो कसका लागि, कसले र कसरी सञ्चालन गर्ने भन्नेमा ध्यान दिनुपर्ने सुझाव दिनुभएको छ ।

दुई दिनसम्म चलेको रेडियो सञ्चालहरुको भेलाको ललितपुरमा भएको समापन समारोहमा बोल्दै मुख्य सचिव पौडेलले नेपालका सामुदायिक तथा व्यवसायिक रेडियोहरु परिपक्क बन्दै गएकाले यसलाई व्यवस्थित गर्न तर्फ ध्यान दिनुपर्ने बताउनुभएको हो । रेडियोबाट प्रसारित छोटो सामाग्रीको प्रभाव कस्तो पर्छ भन्ने तर्फ पनि सञ्चालक र पत्रकारहरुले ख्याल गर्नु पर्ने बेला आएको उहाँले बताउनुभयो ।

रेडियोहरुको अवस्था सुधारका लागि सरोकारवाला निकायहरुबीच निरन्तर परामर्श हुनुपर्ने भन्दै उहाँले सरकार र सञ्चारसँग सम्बद्ध निकाय सहकार्य तथा आवश्यक सहयोगका लागि तयार रहेको उहाँले बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै सञ्चार मन्त्रालयका सहसचिव पुरुषोत्तम तिवारीले समुदायमा देशभर सञ्चालित स्थानीय रेडियोहरुको भूमिका सकारात्मक रहेको बताउनुभयो । उहाँले सञ्चार मन्त्रालयल रेडियोहरुको स्थायित्व, दिगोपना र स्वतन्त्रता प्रत्याभुत गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।

रेडियो सञ्चालकहरुबाट आएका सुझावहरुलाई बन्दै गरेको नयाँ आम सञ्चार नीतिमा समावेश गर्ने प्रयास गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका महासविच उजिर मगरले रेडियो व्यवस्थित हुनका लागि रेडियो सञ्चालक र पत्रकारबीचको सम्बन्ध सुमधुर हुनुपर्ने बताउनुभयो । त्यसका लागि सबै सञ्चार माध्यमले न्युनतम पारिश्रमिक लागु गर्नु पर्नेमा जोड दिनुभयो ।