मध्यपश्चीममा एसएलसी नतिजा कतै सुधार कतै निराशा, जुम्ला जिल्ला मध्यपश्चिमकै प्रथम

 
कृष्ण आचार्य
सुर्खेत,७ असार
यस बर्ष मध्यपश्चीममा एसएलसी को नतीजा केही जिल्लामा सुधार भएको छ भने केही जिल्लामा खस्कीएको छ । यस वर्षको एसएलसी परिक्षामा जुम्ला जिल्ला मध्यपश्चिमाञ्चलको प्रथम हुन सफल भएको छ । ६० दशमलव २६ प्रतिशत  अंक प्राप्त गर्दै जुम्ला प्रथम भएको हो । गत वर्षको तुलनामा यस वर्ष जुम्लाबाट १६ प्रतिशत विद्यार्थी बढी उतिर्ण भएको जिल्ला शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीले बताउनु भयो । उहाँका अनुसार गत वर्ष जुम्लाबाट ४४ प्रतिशत विद्यार्थी उतिर्ण भएका थिए ।  यस्तै ४६ दशमलव २८ प्रतिशत अंक प्राप्त गरेर हुम्ला जिल्लाले दोस्रो स्थान हाँसिल गरेको क्षेत्रिय शिक्षा निर्देशनालय सुर्खेतका शिक्षा निर्देशक  रामप्रसाद उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार कालिकोट जिल्लाले ४६ दशमलव २१ प्रतिशत प्राप्त गर्दै तेस्रो स्थान ल्याएको छ  । यस वर्ष सुर्खेतका ९ वटा विद्यालयको नतिजा शून्य आएको छ । कुल १ सय १८ माध्यमिक विद्यालय परीक्षामा सहभागी भएका थिए । कुल ५ हजार ७ सय ६५ विद्यार्थीमध्ये १ हजार ५ सय ५४ जना विद्यार्थी अर्थात् २७ प्रतिशत उत्तीर्ण भएका छन् । नियमितमा विशिष्ट श्रेणीमा ७३ जना, प्रथम श्रेणीमा ७ सय ११ जना, द्वितीय श्रेणीमा ७ सय ३४ जना र तृतीय श्रेणीमा ३६ जना उत्तीर्ण भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष १७ प्रतिशत कम विद्यार्थी उत्तीर्ण भएका छन् । गत वर्ष ४४ प्रतिशत थियो भने त्योभन्दा अगाडि २८ प्रतिशत उत्तीर्ण भएका थिए । जिल्ला शिक्षा कार्यालय सुर्खेतले यस वर्ष उत्तीर्ण प्रतिशत ५० कटाउने लक्ष्य बनाएको थियो । शून्य नतिजा हुने विद्यालयहरूमा नेरामावि पारेगाउँ रतु, नेरामावि वेतान, प्रभात मावि कोलडाँडा, उच्च मावि नेवारे (खुल्ला), सरस्वती मावि सिमघाट सहारे, नेरामावि नयाँवन पोखरीकाँडा, जनजागृति मावि दमारे कुनाथरी, भेरी मावि तरंगा र इन्द्रेणी मावि गोगने रजेना रहेका छन् । यसैगरी ५ वटा विद्यालयबाट एक,एक जना मात्र विद्यार्थी उत्तीर्ण भएका छन् । भानुमावि बजेडीचौर, सरस्वती मावि सिमदमार, देवस्थान मावि कुमाला घाटगाउँ, सरस्वती मावि काँडासिम्ता र नेरामावि नेटाबाट एकरएक जना मात्र विद्यार्थी उत्तीर्ण भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । उता  बाँकेबाट यसबर्ष ४३ दशमलव २७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यो गत वर्षभन्दा तीन प्रतिशतले बढी हो । नियमित र एक्जाम्टेड गरी ८ हजार विद्यार्थी परीक्षामा सहभागी थिए । तीमध्ये करिब २ हजार ७ पास भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । नियमिततर्फ विशिष्ट १ सय १५, प्रथम १ हजार ४ सय ६७ र दोस्रो ८ सय ३४ र तेस्रो श्रेणीमा ५२ विद्यार्थी पास भएका छन् । त्यस्तै, एक्जाम्टेडतर्फ विशिष्ट १, दोस्रो २ सय १२ र तेस्रो श्रेणीमा ४२ विद्यार्थी पास भएका छन् ।   
 
 
कालिकोटमा विशिष्ट बढे
 
कालीकोट जिल्लामा ४३ प्रतिशत पास भएका  छन् । त्यसमध्ये १२ जना विशिष्ट श्रेणीमा उत्तीर्ण भएका हुन् । जिल्लाका ४६ वटा माविबाट ३ हजार २ सय २२ जनाले नियमिततर्फको परीक्षा दिएकोमा १ हजार ३ सय ८३ जना पास भएका छन् ।
कालिकोटका निमित्त जिशिअ लोकप्रसाद पौडेलका अनुसार विशिष्ट श्रेणीमा १२, प्रथम श्रेणीमा ७९ जना, द्वितीय श्रेणीमा १ हजार १ सय ५८ जना र तृतीय श्रेणीमा १ सय ३७ जना उत्तीर्ण भएका छन् । यस्तै, एक्जाम्टेडतर्फ १ हजार ४ सय ४४ जनाले परीक्षा दिएकोमा ४ सय १४ अर्थात् २० दशमलव ६७ प्रतिशत विद्यार्थी सफल भएका छन् । सफल हुनेमा ११ प्रथम श्रेणी, ३ सय ३४ द्वितीय र ६९ तृतीय श्रेणीमा उत्तीर्ण भएका छन् । गत वर्ष नियमिततर्फ ४१ दशमलव १८ प्रतिशत पास भएका थिए ।
 
 
 
रुकुममा एसएलसीमा ४५ दशमलव ८३ प्रतिशत उत्तीर्ण भए पनि गत वर्षको तुलनामा ४.१७ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष ५० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । जिल्ला शिक्षा कार्यालयका अनुसार यस वर्ष रुकुम जिल्लाबाट ४ हजार ७ सय ३२ विद्यार्थी एसएलसीमा सम्मिलित भएका थिए । उत्तीर्ण हुनेमा नियमिततर्फ विशिष्ट श्रेणीमा १७ जना, प्रथम श्रेणीमा ४ सय ७२ जना, द्वितीय श्रेणीमा १ हजार ५ सय ५९ जना तथा तृतीय श्रेणीमा १ सय १४ जना उत्तीर्ण भएका छन् ।
त्यस्तै एक्जाम्टेडतर्फ प्रथम श्रेणीमा ४ जना, द्वितीय श्रेणीमा १ सय ७५ जना तथा तृतीय श्रेणीमा ९० जना उत्तीर्ण भएका छन् । 
 
 
रोल्पामा अघिल्लो वर्षको तुलनामा उत्तीर्ण प्रतिशत बढे पनि समग्र परिणाम निराशाजनक आएको छ । रोल्पामा नियमिततर्फ यो वर्ष २ हजार २ सय ८६ विद्यार्थीमध्ये ६ सय ९२ जनामात्र उत्तीर्ण भए । यसपटक दुई जनामात्र विशिष्ट श्रेणीमा सफल भए । प्रथममा १ सय ७३, द्वितीयमा ४ सय ९५ र तृतीय श्रेणीमा २२ विद्यार्थीले एसएलसी उत्तीर्ण गरेको जिल्ला शिक्षा कार्यालयका अधिकृत कृष्ण पोख्रेलले बताउनुभयो । कार्यालयका अनुसार यो वर्ष विद्यार्थी उत्तीर्ण प्रतिशत ३०.३७ छ । अघिल्लो वर्ष भने २४.७३ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए । अघिल्लो वर्षको तुलनामा ६ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । एक्जाम्टेडतर्फ १९.४९ प्रतिशत अर्थात् २ सय २३ विद्यार्थी मात्र उत्तीर्ण भए । एक्जाम्टेडतर्फका १ हजार १ सय ४४ विद्यार्थीले परीक्षा दिएका थिए ।
 
 
प्युठानमा भने ३३.१२ प्रतिशत उत्तीर्ण भएका छन् । यो गत वर्षकै हाराहारीको परिणाम हो । २ हजार ३ सय ८९ परीक्षार्थीले परीक्षा दिएकोमा ७ सय ७८ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । विशिष्ट २१, प्रथम २ सय ६५, द्वितीय ४ सय ७५ र तृत्तीय श्रेणीमा १७ परीक्षार्थी उत्तीर्ण भएको जिल्ला शिक्षा कार्यालय प्यूठानले जनाएको छ । यस वर्ष जिल्लामा सामुदायिक विद्यालयमा विशिष्ट श्रेणी ल्याउने विद्यालयको संख्या बढेको जिल्ला शिक्षा अधिकारी नारायणप्रसाद भट्टराईले बताउनुभयो ।
 
बर्दियामा ६ प्रतिशत घट्यो
उता बर्दियामा २३ प्रतिशत मात्र उत्तीर्ण भएका छन् । यो नतिजा निराशाजनक हो । गत वर्ष २९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएकोमा झन्डै ६ प्रतिशत घटेर २२ दशमलव ८० प्रतिशत परीक्षार्थी मात्र सफल भएका छन् । यस वर्ष ७ हजार ४ परीक्षार्थी एसएलसीमा संलग्न थिए । तीमध्ये विशिष्ट श्रेणीमा ६९ जनासहित १ हजार ५ सय ९५ जना उत्तीर्ण भए । यस्तै, ५ सय १६ जना प्रथम, ९ सय ३० जना द्वितीय र ८२ जना तृतीय श्रेणीमा उत्तीर्ण भएको जिल्ला शिक्षा कार्यालय तथ्यांक फाँटका शेरबहादुर रोकायले बताउनुभयो ।
 
 
दाङमा गत वर्षभन्दा ७ प्रतिशत कम विद्यार्थी उतीर्ण भएका छन् । यस वर्ष ३९.९ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् भने गत वर्ष ४६.५७ प्रतिशत उत्तीर्ण थिए । कुल ९ हजार १ सय ५ परीक्षार्थीमध्ये ३ हजार ६ सय ३७ उतीर्ण भएको जिल्ला शिक्षा अधिकारी प्रह्लाद अर्यालले बताउनुभयो । विशिष्ट श्रेणीमा २ सय १०, प्रथममा १ हजार ९ सय ८०, दोस्रो १ हजार ३ सय २० र तेस्रो डिभिजनमा १ सय १७ उत्तीर्ण भएको उहाले जानकारी दिनुभयो ।