सुर्खेत र दैलेखका एघार सहकारी संस्था खारेज ।।

 
सुर्खेत,१५ साउन
गत आर्थिक बर्ष ०७१÷७२ मा सुर्खेत र दैलेखका ११ सहकारी संस्था खारेज भएका छन् । दुइ आर्थिक बर्षसम्म डिभिजन सहकारीमा बार्षिक प्रतिवेदन नबुझाउने सहकारी संस्था खारेज भएका हुन् । आर्थिक बर्ष ०७०÷७१ मा चार वटा सहकारी संस्था खारेज भएका थिए । दुइ आर्थिक बर्षसम्म लेखापरीक्षण नगराउने, साधारण सभा नगर्ने र डिभिजन सहकारीमा प्रतिवेदन नबुझाउने संस्थाहरुलाई खारेज गरिएको जनाइएको छ । खारेज गर्नु पूर्व डिभिजन सहकारीले सहकारी संस्थाहरुलाई जानकारी गराउने, सार्वजनिक सुचना गर्ने र तोकिएको समयमा सम्पर्कमा नआए पुनः ३५ दिने सुचना जारी गर्ने र त्यति गर्दा पनि संस्थाहरु सम्पर्कमा नआए खारेज गर्ने प्रावधान रहेको दर्ता खारेजी फाँटका सहायक सहकारी निरिक्षक गणेशबहादुर खड्काले जानकारी दिनुभयो । गत आर्थिक बर्षमा खारेज भएका सुर्खेतका सहकारी संस्थाहरुमा शहिद स्मृती बचत तथा ऋण सहकारी संस्था, ज्वाला बचत तथा ऋण सहकारी संस्था, स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी, खेल्ने चौर बहुउद्देश्यी सहकारी डाँडाखाली, सुर्खेती महिला बहुउद्देश्यी सहकारी लाटिकोइली, मालिका इमीजडीबुटी उत्पादक सहकारी बावियाचौर, भोटेचुली जडिबुटी उत्पादक सहकारी गुमी रहेका छन् । त्यस्तै दैलेखका सिर्जनशिल समाज बचत तथा ऋण सहकारी कुशापानी, नवज्योती बचत तथा ऋण सहकारी साततल्ला, पंचदेवल स्वाबलम्बन सहकारी संस्था नारायण नगरपालिका, ६ र युवा प्रगति बचत तथा ऋण सहकारी संस्था कालभैरव, ७ रहेका छन् । आर्थिक बर्ष ०७१÷७२ मा सुर्खेतमा ४६, दैलेखमा २७ र जाजरकोटमा १८ नयाँ सहकारी दर्ता भएका छन् । सुर्खेत, दैलेख र जाजरकोटमा गरी हालसम्म विभिन्न प्रकृतिका १ हजार ५७ सहकारी संस्था रहेको डिभिजन सहकारीले जनाएको छ । जसमध्ये सुर्खेतमा ६ सय २२, दैलेखमा २ सय ७६ र जाजरकोटमा १ सय ५९ सहकारी छन् । डिभिजन सहकारी कार्यालयका योजना प्रगति, अनुगमन तथा मूल्याङकन फाँटका भिमनिधी उपाध्यायका अनुसार तीन वटै जिल्लामा बचत तथा ऋण, बहुउद्देश्यी, कृषि, दुग्ध, साना किसान, विद्युत, उद्यमी, शैक्षिक, संचार, मौरी पालन, निर्माण मजदुर, जडिबुटी लगायतका विभिन्न प्रकृतिका सहकारी संस्थाहरु रहेका छन् ।