सरकारलाई दिएको समर्थन फिर्ता : मोर्चा

 

काठमाडौं, चैत २ –

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने संसदलाई जानकारी गराएको छ । 

मोर्चाका तर्फबाट तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले संसदमा बोल्दै तीन बुँदे सहमति कार्यान्वयन नभएकाले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउनुभएको हो । बुधबारको संसद बैठकको सुरुमै यादवले भन्नुभयो, ‘सरकारले तीन बुँदे सम्झौताको कार्यान्वयन गरेन । हिजोसम्म दिएको सात दिने अल्टिमेटमलाई सरकारले बेवास्ता गरेकाले आजदेखि समर्थन फिर्ता लिएर विपक्षी बेञ्चमा बस्ने जानकारी गराउँछौं ।’ 

साउन १९ गते पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन हुँदा मोर्चाको माग सम्बोधन गर्न संविधान संशोधन गर्नेलगायतको तीन बुँदे सहमति भएको थियो । मोर्चामा आबद्ध सात दलसँग संसदमा ४२ जना सांसद छन् । मोर्चाले वैशाख ३१ गतेका लागि तय भएको स्थानीय तहको चुनाव गैरकानुनी भएकाले फिर्ता लिनुपर्ने दाबी गरेको छ ।

पुनर्संरचना आयोगले अपूर्ण प्रतिवेदन दिएकाले त्यसका आधारमा हुने स्थानीय चुनाव पनि वैधानिक नहुने यादवको भनाई छ । नागरिकलाई झुक्याउन मात्र सरकार र ठूला दलले स्थानीय चुनावको कुरा गरेको दाबी गर्दै अध्यक्ष यादवले पहिला प्रदेश र संघको चुनाव गर्न माग गर्नुभयो । उहाँले एमालेको मची महाकाली अभियानमा ठूलो संख्यामा प्रहरी परिचालन गरेर मेधसीमाथि दमन गरेको भन्दै आपत्ति जनाउनुभयो ।