साक्षात्कार–फरक नेताको फरक धारणा

 

2017-05-27 18:48

काठमाडौँ, १३ जेठ । राष्ट्रिय जनता पार्टीका शीर्ष नेता राजेन्द्र महतोले आफ्नो पार्टीले मधेसी जनताको मुद्दा छोडेर स्थानीय चुनावमा भाग लिन नसक्ने बताउनुभएको छ । 

रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले मधेसी जनताको अधिकारलाई सम्बोधन हुने गरी संविधानमा संशोधन, गाउँपालिका तथा नगरपालिकामा जनसङ्ख्याका आधारमा सीमा निर्धारण, झुठा मुद्दाको आरोपमा थुनिएकाको मुद्दा फिर्ता नभएसम्म तराईमा दोस्रो चरणको निर्वाचन हुन नसक्ने बताउनुभयो । उहाँले थप्नुभयो – “प्रजातन्त्रमा सेना परिचालन गरेर जबर्जस्ती निर्वाचन गर्ने भन्ने हुँदैन ।” 

नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले तराईका जनताको राजनीतिक, आर्थिक तथा सामाजिक अधिकारका लागि सबै राजनीतिक दल एक हुनुपर्नेमा जोड दिँदै संविधानलाई सर्वस्वीकार्य गर्नका लागि अडान लिने बेला होइन निकास दिने बेला आएको बताउनुभयो । उहाँले काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने र त्यो सरकारमा एमाले पनि आउनसक्ने उल्लेख गर्नुभयो । 

नेकपा (एमाले)का नेता आनन्द पोखरेलले एमालेको जोड जेठ ३१ मा स्थानीय निकायको निर्वाचन हुनुपर्छ भन्ने हो भन्नुभयो । 

प्रधानमन्त्री पुष्पकमल दाहालका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले नेपाली काँग्रेससँगको सहमतिअनुसार प्रधानमन्त्रीले राजीनामा दिनुभएको बताउनुभयो । अब बन्ने सरकारले पनि संविधान कार्यान्वयनमा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।