त्रिपोलीमा भएको झडपमा संयुक्त सरकार समर्थित बाउन्न लडाकुको मृत्यु

 

2017-05-27 18:51

त्रिपोली (लिबिया), १३ जेठ । लिबियाको संयुक्त सरकारप्रति बफादार सेनाले शुक्रबार लिबियाको राजधानी त्रिपोलीमा भएको झडपमा ५२ जना मिलिसियाको मृत्यु भएको बताएको छ । 

सो समूहले राजधानीमा प्रतिस्पर्धी लडाकुले आक्रामक हमला गरेपछि उनीहरुसँगको जवाफी लडाइँमा ५२ जना मिलिसियाको मृत्यु भएको बताएको छ । 

दक्षिणी त्रिपोलीमा आकस्मिक एवम् अस्वाभाविक रुपमा बन्दुक आक्रमण गरेपछि झडप भएको भए पनि शनिबारै सहर पूर्णतयाः शान्त बनिसकेको बताइएको छ । 

मुसलमानहरुको पवित्र महिना रमादानको पहिलो दिनमा अवस्लिम जिल्लामा ठूलो सङ्ख्यामा आफ्ना लडाकुको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घद्वारा मान्यताप्राप्त लिबियाली सरकारका सुरक्षा अधिकारी हासेम विसरले बताउनुभयो । मृतकमध्ये १७ जना संयुक्त सरकारका सेना रहेको विसरले पुष्टि गर्नुभएको छ । 

यसैबीच संयुक्त राष्ट्रसङ्घ लिबियाका लागि विशेष प्रतिनिधि मार्टिन कवलरले शुक्रबार भएको झडपमा ठूला हतियार र ट्याङ्कसमेतको प्रयोग भएको बताउँदै यसको कडा आलोचना गर्नुभएको छ । यस किसिमका गैरजिम्मेवारपूर्ण हमला नगर्न सबै पक्षलाई उहाँले निर्देशन दिनुभएको छ ।