म्यान्चेष्टर आक्रमणकारीको आशङ्कामा थप दुई माथि छानविन

 

2017-05-27 16:29

म्यान्चेष्टर (बेलायत), १३ जेठ । बेलायतको प्रहरीले शनिबार थप दुई जनालाई पक्राउ गरी अनुसन्धान अगाडी बढाएको जनाएको छ । 

गत सोमबारे एउटा रात्रिकालिन साङ्गितिक कार्यक्रम भइरहेको ठाउँमा भएको आतङ्ककारी हमलामा संलग्न भएको आशङ्कामा उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले बताएको छ । 

प्रारम्भीक अनुसन्धानअनुसार घटनामा आतङ्ककारीको ठुलो सन्जाल पछाडिबाट संलग्न रहेको प्रहरीले निश्कर्ष निकालेको छ । 

शनिबार पक्राउ पर्नेमा एक जना २० वर्षीय र अर्को एक २२ वर्षीय पुरुष रहेका छन् । उनीहरुलाई शनिबार विहानै उत्तरी म्यान्चेष्टरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

सोमबार भएको घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले अहिलेसम्म ११ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । 

घटनामा परी २२ जनाको मृत्यु भएको थियो भने ११६ जना घाइते भएका छन् । उनीहरुको अहिले पनि उपचार भइरहेको छ । घटनाको इस्लामिक स्टेट (आइएस) समुहले जिम्मेबारी लिएको छ । 

स्थानीय समयानुसार सोमबार राति १०ः३५ बजे (नेपाली समय अनुसार मङ्गलबार बिहान सवा चार बजे तिर) म्यान्चेस्टर सङ्गीतस्थल (एरिना) परिसरमा भयानक आवाजसहित उक्त बिस्फोटनको घटना भएको थियो ।