दोस्रो निर्वाचन निष्पक्ष बनाउन नेकपा (संयुक्त)को माग

 

2017-05-27 19:19

काठमाडौँ, १३ जेठ । नेकपा (संयुक्त) ले दोस्रो चरणको स्थानीय निर्वाचन निष्पक्ष र भयमुक्त बनाउन माग गरेको छ । 

पार्टीका अध्यक्ष गणेश साहको अध्यक्षतामा आज बसेको पोलिटब्युरो बैठकले संविधान कार्यान्वयन गरी लोकतन्त्रलाई बलियो बनाउन सबैको सहभागितामा निष्पक्ष चुनाव गराउन आग्रह गरेको हो । 

बैठकले प्रधानमन्त्रीले सहमति कार्यान्वयनका लागि दिएको राजीनामाको स्वागत गर्दै वर्तमान सरकारलाई सामान्य बजेट ल्याउन सुझाव दिएको छ । सरकारले संसद्मा पेस गरेको नीति तथा कार्यक्रममा राष्ट्रिय गौरवका आयोजनालाई निरन्तरता दिने गरी ल्याइएकोमा त्यसलाई स्वागत गरेको प्रचार विभाग प्रमुख केदारचन्द्र शर्माले जानकारी दिनुभयो । 

बैठकले मुलुकको समसामयिक राजनीतिक अवस्थाको समीक्षा गर्दै आगामी दिनमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल गरिएको छ । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा मधेसकेन्द्रित दललाई पनि साथ लिएर अगाडि बढ्न आग्रह गर्दै त्यसका लागि सबै दललाई जिम्मेवार हुन आग्रह गरेको छ । 

उक्त बैठकले पार्टीले चुनावमा विभिन्न जिल्लामा सफलता प्राप्त गर्न आवश्यकताअनुसार विभिन्न दलसँग तालमेल गरी निर्वाचनमा सहभागी हुन जिल्ला कमिटीलाई निर्देशन पनि दिएको छ ।